रौतहटको मौलापुरले तिरिदियो जनताको विद्युत् महसुल

तेस्रो किस्ताबापत ४५ लाख २६ हजारको चेक हस्तान्तरण

रौतहट : मौलापुरमा जनताले बुझाउने विद्युत् महसुलको तेश्रो किस्ता बापत ४५ लाख २६ हजार रकम नगरपालिकाले विद्युत् प्राधिकरणलाई बुझाएको छ।

नगरप्रमुख रीना कुमारी साहले नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गरेकी हुन्।

मौलापुर नगरपालिकाले फ्री बिजुली, फ्री पानी कार्यक्रम सञ्चालन गर्दै आएको छ। झन्डै पाँच वर्षदेखि जनताको घरायसी मिटर र कृषि मिटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको छ।

यो चालु आर्थिक वर्षमा मात्रै कुल ३ करोड ४३ लाख ५० हजार रकम बुझाइसकेको साहले जानकारी दिइन्।

२०७८ साल साउनदेखि नगर क्षेत्रभित्रका घरायसी प्रयोजनका ग्राहकहरूको सम्पूर्ण विद्युत् महसुल मौलापुर नगरपालिकाले तिर्ने निर्णय गरेको थियो।

मेयर रिना कुमारी साहको पहलमा मौलापुर नगरक्षेत्रभरी घरायसी विद्युत् खपतका साथै कृषि प्रयोजनमा खपत हुने विद्युत् महसुल नगरपालिकाले तिर्दै आएको छ।

त्यसैगरी मेयर साहको पहलमा नगरपालिकामा निःशुल्क मालपोत, किसानलाई विभिन्न किसिमका निःशुल्क बीउबिजनलगायत सुविधा उपलब्ध हुँदै आएको छ।

सम्बन्धित समाचार

सबै