कल्भर्टको पर्खालबाट लडेर पाँच वर्षीया बालिकाको मृत्यु

रौतहट । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–९ खापड टोलमा कलभर्टको पर्खालबाट लडेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शेख मेहबुल हककी पाँच वर्षीया छोरी फातमा खातुन रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार फातमा शनिबार बिहान बाख्रा चराउन घरबाट निस्किएकी थिइन् । बाख्रा चराउने क्रममा कलभर्टको पर्खालबाट खाल्टोमा खसेर जमेको पानीमा डुबेकाले उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिका पानीमा डुबेको देखेपछि स्थानीयवासीले तत्कालै उनलाई पानीबाट बाहिर निकालेका थिए । घटनाबारे बिहान साढे ९ बजे प्रहरी चौकी रामपुरखापमा जानकारी प्राप्त भएको थियो ।

खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक (असई) धीरेन्द्रकुमार झाको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) विश्वनाथ यादवको कमान्डमा थप टोली खटाएको छ ।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै