लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक जना अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जना मृत फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेका छन्।

प्रहरीका अनुसार मंगलबार करुनिया बस्ने करमे आलमका १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी १० वर्षीया छोरी रौशन खातुन खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

खोजतलास गर्ने क्रममा बुधबार बिहान साढे ७ बजे महमद रमतुलाह र सबनम खातुन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूको शव घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिणतर्फ रहेको परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोला किनारमा भेटिएको हो। दुवै बालबालिकाको शव करिब दुई सय मिटरको दूरीमा फेला परेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

बेपत्ता भएकी अर्की १० वर्षीया बालिका रौशन खातुनको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उनको खोजीका लागि स्थानीय बासिन्दा र प्रहरी टोली परिचालन गरिएको छ।

सम्बन्धित समाचार

सबै