अब मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको स्टल

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय परिसरमा दुग्ध विकास संस्थान (डीडीसी)ले दुग्धजन्य सामग्री बिक्रीवितरण गर्ने स्टल राख्ने तयारी थालेको छ ।

स्टल राख्नका लागि मन्त्रिपरिषद् कार्यालयसँग छलफल भइसकेको र एक हप्ताभित्रै स्टल राख्ने गरी तयारी भइरहेको दुग्ध विकास आयोजना ढल्केवर शाखाका प्रमुख दिनेश जोशीले जानकारी दिए । जोशीका अनुसार मुख्यमन्त्री कार्यालय परिसरमा विभिन्न मन्त्रालय पनि रहेकाले स्टल राख्ने तयारी थालिएको हो ।
उनले भने, ‘कर्मचारी र सर्वसाधारण समेत गरी एक हजारभन्दा बढी मान्छेको दिनहुँ आवतजावत हुन्छ । स्वदेशी उत्पादनको प्रबर्द्धनसँगै स्वस्थ्यकर पनि हुने भएकाले यहाँ स्टल राख्ने तयारी थालिएको हो । मुख्यमन्त्री कार्यालयसँग छलफल भइसक्यो । अबको एक हप्ता, १० दिनभित्र यहाँ स्टल राखिसक्छौँ ।’

संस्थानले अहिले दुग्धजन्य पदार्थबाट निर्मित दही, रसभरी, बटर, पनिर, घ्यु, मोही, विभिन्न फ्लेभरयुक्त आइसक्रिम उत्पादन गर्दै आइरहेको छ । यहाँ राखिने स्टलबाट यी सबै पदार्थ विक्री वितरण गरिने आयोजनाले जनाएको छ ।

एक महिना अघि प्रधानमन्त्री वालेन्द्र ९बालेन० शाहले स्वदेशी उत्पादन भन्दै डीडीसीको ‘चिज’ खाँदै गरेको तस्बिर सार्वजनिक भएपछि डीडीसीबाट उत्पादित सामग्रीहरूको विक्री वितरण ह्वात्तै बढेको थियो ।

जनकपुर चुरोट कारखाना हाताभित्र अहिले मुख्यमन्त्री कार्यालयसँगै अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालयसमेत छ । स्वदेशी उत्पादनलाई प्रबर्द्धन, प्रोत्साहन गर्नुपर्छ भन्नेमा सबै एकमत छन् । त्यही उद्देश्यले मुख्यमन्त्री कार्यालय परिसरमा यो स्टल राख्न लागिएको मधेस प्रदेश दुध विकास बोर्डका उपाध्यक्ष डा शम्भु साहले बताए ।

उनले भने, ‘डीडीसी सरकारी संस्थान हो । यसको उत्पादन गुणस्तरीयसँगै स्वस्थ्यकर हुने भएकाले कर्मचारी, सेवाग्राही सबैका लागि राम्रै हुन्छ ।’

आयोजना प्रमुख जोशीका अनुसार ढल्केबर शाखाबाट सहकारी र व्यावसायिक फार्मबाट गरी दैनिक २ हजार २ सय देखि २ हजार ५ सय लिटर दुध सङ्कलन हुने गरेको छ ।

सम्बन्धित समाचार

सबै