लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित तरकारी बजारमा तरकारी किनिरहेका एक व्यक्तिको घाँटीबाट सुनको सिक्री चोर्न खोज्ने युवक पक्राउ परेका छन्।
शनिबार बिहान करिब ८ बजे लालबन्दी नगरपालिका–१ बस्ने ५० वर्षीय सरोज जंग रानाको घाँटीबाट सुनको सिक्री चोर्न खोज्दा ती युवक नियन्त्रणमा परेका हुन्।
प्रहरीका अनुसार राना लालबन्दीस्थित तरकारी बजारमा तरकारी किनिरहेको अवस्थामा उनको घाँटीमा रहेको करिब १.५ तोलाको सुनको सिक्रीलाई कपडाले छोपेर निकाल्न खोजिएको थियो। उक्त प्रयास गरिरहेकै अवस्थामा पर्साको वीरगञ्ज महानगरपालिका–२२, चण्डालचोक बस्ने २० वर्षीय बैधनाथ प्रसाद राउतलाई नियन्त्रणमा लिइएको हो।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) संजय यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले राउतलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको छ।
उक्त घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।