ठूलो परिमाणमा लागुऔषधसहित भारतीय सीमाबाट बाराका दुई युवक पक्राउ

बारा : भारतमा ठूलो परिमाणमा लागुऔषधसहित बाराका दुई युवक पक्राउ परेका छन्।

बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा स्तम्भ) नजिकै बाट सोमबार लागुऔषधसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ८ ककोर्वाका २५ वर्षीय इरफान खान र सोही नगरपालिका बाँसवरिया गाउँका राजु यादव रहेका प्रहरीले जनाएको छ। भारत घोडासहन बजारबाट भारु ४८ हजार रुपैयाको विभिन्न किसिमका लागुऔषध इन्जेक्सन, ट्याब्लेट र सिरप मोटरसाइकलमा राखेर ककोर्वा गाउँ तर्फ जाने क्रममा ईरफान लाई एसएसबीको टोलीले पक्राउ गरेको थियो।

घोडासाहन बजार बाट लगेर सिम्रौनगढ नगरपालिका बाँसवरीया गाउँमा राजु यादव र उनको भाइ कञ्चन यादवको घरमा स्टक गरेर कलैया, निजगढ, हेटौँडादेखि काठमाडौँसम्म पुर्‍याउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

इरफानलाई बरामद लागुऔषध र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि झरौखर थानामा बुझाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ।

इरफानको बयानका आधारमा घोडासहनबाट आफ्नो घर बारा सिरौनगढ बाँसवरीयातर्फ जाँदै गरेका राजु यादवलाई झरौखर थानाको टोलीले नियन्त्रणमा लिएको मोतीहारी जिल्लाका एस्पी कान्तेश कुमार मिश्रले पुष्टि गरेका छन्।

लागुऔषध कारोवारी दुवै जना आरोपी जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

सबै