सीतामढी । सरकारले मल उपलब्ध गराउन नसकेपछि सीमावर्ती भारतीय बजार सोनवर्षाबाट आफैंले किनेर ल्याउँदा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ सुरेशप्रसाद सिंह र नगेन्द्रप्रसाद सिंह एक महिनाभन्दा बढीको जेल बसाइपछि शुक्रबार साँझ जमानतमा रिहा भएर घर पुगेका छन् ।
भारतस्थित सीतामढी जिल्लाको डुमरामा रहेको व्यवहार अदालतले उनीहरूलाई जमानतमा छाड्ने आदेश बुधबार दिएको थियो । सोही आदेशअनुसार कानुनी प्रक्रिया पूरा गरी आज उनीहरू ३८ दिन जेलमा बसेर मुक्त भएका हुन् ।
अदालतका मुख्य जिल्ला न्यायाधीश अखिलेशकुमार झाको एकल इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो ।
१७ असारमा २ बोरा युरिया र ६ बोरा डीएपी मल लिएर घर फर्किंदै गरेका बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेश र ६० वर्षीय नागेन्द्रलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।

भारतीय अधिकारीहरूले उनीहरूमाथि ‘मल तस्करी’ को आरोप लगाएर सोनवर्षा थाना पुर्याएका थिए । पछि उनीहरूलाई सीतामढीको डुमरास्थित कारागार चलान गरियो ।
अदालतमा सिंह दाजुभाइका तर्फबाट डुमराका वकिल सञ्जयकुमार झा र किरण चौधरीले बहस गरेका थिए । वकिल झाले न्यायाधीशबाट जमानतको आदेश भएकाले बाँकी प्रक्रिया पूरा गरी उनीहरू जेलमुक्त भएका बताए ।
वकिल झाका अनुसार बिहीबार दुवैको जमानत आदेशको कागजात जुनियर न्यायाधीशले लेखापढी गरेर डुमरा कारागार पठाइएको थियो । कारागारमा सिंह दाजुभाइले जमानतको आदेश कागजमा हस्ताक्षर गरेका थिए ।
उक्त कागज पुनः अदालत लगेर त्यहाँबाट प्रक्रियालाई अन्तिम रूप दिँदै आफन्तको जग्गाजमिन धरौटी राखेर जमानतमा छाडिएको थियो । र त्यसै दिन साँझ उनीहरू जेलमुक्त भएका थिए ।
सिंहका आफन्तहरू कारागार बाहिर उनीहरूको पर्खाइमा थिए ।