सर्लाहीमा डीजे जडित गाडीसहित दुई जना पक्राउ

मलङ्गवा । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा अत्यधिक ध्वनि प्रदूषण गर्ने डीजे नियन्त्रण गर्ने अभियानअन्तर्गत सर्लाही प्रहरीले डीजेसहितको एक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मलङ्गवाका अनुसार मलङ्गवा नगरपालिका–९, गोरखकालिबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा डीजे सञ्चालक हरिपुर नगरपालिका–२ का ५५ वर्षीय जागेश्वर पण्डित र डीजे जडान गरिएको गाडीका चालक बागमती नगरपालिका–४ का २३ वर्षीय जगन्नाथ साह रहेका छन्।

प्रहरीले डीजेका विभिन्न साउन्ड सिस्टमहरू लोड गरिएको ना. १ च ४२९१ नम्बरको योद्धा गाडी नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्ति र सवारी साधनमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने र ध्वनि प्रदूषण बढाउने किसिमका डीजे प्रयोग नगर्न आम सर्वसाधारणमा आग्रह गरेको छ।

प्रहरीको यो निर्देशनलाई अटेर गरी तीव्र आवाजमा डीजे बजाएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।

सम्बन्धित समाचार

सबै