लाल बकैया नदीमा नुहाउन गएका तीन बालबालिका डुबेर बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा तीन जना बालबालिका डुबेर बेपत्ता भएका छन्।

मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा स्थानीय तीन बालबालिका डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार बेपत्ता हुनेहरूमा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने शेख कमरे आलमका करिब १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह, सोही ठाउँका शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमान्डमा नौ जनाको टोली घटनास्थल पुगेको थियो। त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमान्डमा सात जनाको टोलीसमेत खोजी कार्यमा परिचालन भएको छ।

बेपत्ता बालबालिकाको खोजी कार्यलाई तीव्रता दिन सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको नेतृत्वमा नौ सदस्यीय डुबान उद्धार टोली रबर बोटसहित घटनास्थलमा खटिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त गौतमका अनुसार हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लाल बकैया नदीमा बेपत्ता बालबालिकाको खोजी कार्य जारी राखेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणतर्फ पर्दछ।

सम्बन्धित समाचार

सबै