हरिवनमा ‘लागूऔषधविरुद्ध युवा दौड’ प्रतियोगिता

हरिवन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्लाहीको हरिवनमा बुधबार बिहान युवा दौड प्रतियोगिता आयोजना गरिएको छ। सर्लाही युथ फोरमको आयोजनामा ‘लागूऔषधविरुद्ध हाम्रो दौड’ भन्ने नाराका साथ नयाँरोडदेखि हरिवनसम्म दौड प्रतियोगिता सञ्चालन गरिएको हो।

उक्त प्रतियोगितामा जिल्लाका एक सयभन्दा बढी युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा अशोककुमार साह प्रथम, विक्रम यादव दोस्रो र आकाश मुखिया तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। विजेता खेलाडीहरूलाई प्रमाणपत्रसहित क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

सर्लाही युथ फोरमकी अध्यक्ष आरती लामाले सर्लाही पछिल्लो समय लागूऔषध सेवनकर्ताको अखडाजस्तै बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। “लागूऔषधले हाम्रा युवाको सिर्जनशीलता मार्दै लगेको छ,” अध्यक्ष लामाले भनिन्, “युवाहरूलाई स्वस्थ, अनुशासित तथा मानसिक र शारीरिक रूपमा सक्षम बनाउन राज्यले विशेष ध्यान दिनुपर्छ।”

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार देशभर विभिन्न सचेतनामूलक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरिएका छन्। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ तय गरिएको छ।

सम्बन्धित समाचार

सबै