मलंगवा । सर्लाहीको मलंगवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विद्यालयमा अनुपस्थित शिक्षकको फर्जी हाजिरी बनाएर गैरकानुनी रूपमा तलब निकासा गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा अख्तियारले मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
मुद्दा दायर गरिएकामा विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र तत्कालीन प्राथमिक द्वितीय श्रेणीकी शिक्षक प्रियंका कुमारी सिंह रहेका छन्।
अख्तियारले दुवैजना जनासँग जनही ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा बिगो कायम गरी सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
यसरी भएको थियो हिनामिना :
अख्तियारका अनुसार शिक्षक प्रियंका कुमारी सिंह वि।सं। २०७९ सालको वैशाख महिनादेखि कात्तिक १८ गतेसम्म कुनै औपचारिक सूचना वा निवेदन पेस नगरी विद्यालयमा निरन्तर अनुपस्थित रहेकी थिइन्।
शिक्षा ऐन अनुसार मनासिव कारणविना लामो समय अनुपस्थित रहने शिक्षकलाई पदबाट हटाउने प्रक्रिया अगाडि बढाउनुपर्नेमा तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादवले हाजिरी रजिष्टर खाली राखेका थिए। लामो समयपछि शिक्षक विद्यालयमा उपस्थित भएपछि एकमुष्ठ हाजिरी गराइएको र पछि उक्त हाजिरीमा टिपेक्स लगाई सच्याएर पुनः हाजिर गराइएको खुलेको छ ।
प्रअ यादवले सोही फर्जी हाजिरी र विदाको अभिलेखका आधारमा मलंगवा नगरपालिकाबाट गैरकानुनी रूपमा छुट तलब निकासा गराएका थिए। अनुसन्धानका क्रममा शिक्षक सिंह अनुपस्थित रहेको अवधि २०७९ साउनदेखि कात्तिकसम्मको २ लाख ४० हजार ९१४ र वैशाख, जेठ तथा असार महिनाको १ लाख ३० हजार १२१ गरी कुल ३ लाख ७१ हजार ३६ रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी लिएको र दिएको पुष्टि भएको छ।
कैद र जरिवानाको मागदाबी :
सरकारी कागजात सच्याएर सरकारी रकम हिनामिना, हानि(नोक्सानी तथा दुरुपयोग गरेको पुष्टि भएकाले प्रतिवादीहरू यादव र सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो।
उनीहरूबाट हिनामिना भएको बिगो ३ लाख ७१ हलार ३६ रुपैयाँ असुल उपर गरी ऐनबमोजिम कैद र जरिवाना सजाय गर्न अख्तियारले मागदाबी गरेको छ ।