सर्लाहीमा ८ लाख ७८ हजार बराबरको अवैध कपडासहित कार बरामद

लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरीले ठुलो परिमाणमा अवैध कपडा र एउटा कार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार दिउँसो चेकजाँचका क्रममा उक्त सामग्री बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय फूलजोर र ट्राफिक प्रहरीको संयुक्त टोलीले ईश्वरपुर नगरपालिका–५, फूलजोर चोकस्थित फूलजोर-बयलवास सडकखण्डमा चेकजाँच गरिरहेको थियो । सोही क्रममा बा ७ च १६३२ नम्बरको कार प्रहरी टोलीलाई देख्नासाथ चालकले सडकमै छाडेर फरार भएका थिए ।

शंका लागेर उक्त कार खानतलासी गर्दा भित्र लुकाइछिपाइ राखिएको अवस्थामा अन्दाजी ८ लाख ७८ हजार ८ सय रुपैयाँ बराबरको तयारी कुर्ता सुरुवाल फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार नियन्त्रणमा लिइएको कार र कपडालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा पठाइएको छ ।

फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै