महोत्तरी । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी धेरैजना बेपत्ता भए ।
यस विपद्मा स्वदेशी मात्र नभई विदेशी नागरिकहरू समेत परेका छन् । सरकारले उनीहरूको खोजबिन तथा उद्धारमा हरसम्भव प्रयास गरिरहेको छ । यद्यपि, घटनाको १३औँ दिन बितिसक्दा पनि सम्पर्कविहीन आफन्तको अत्तोपत्तो नहुँदा परिवारका सदस्यहरू शोकाकुल र भावविह्वल अवस्थामा दिनरात बिताउन बाध्य छन् ।
बेपत्ता आफन्तको खोजीमा पीडित परिवारका सदस्यहरू काठमाडौँ, भरतपुर, चितवन, पोखरा, रसुवा, नुवाकोट र धादिङ लगायतका स्थान पुगेर फर्किसकेका छन् । उनीहरूको अवस्था थाहा हुन नसक्दा परिवारका सदस्य मात्र नभई आफन्त र छरछिमेकी समेत भावविह्वल मुद्रामा पीडितकै आँगनमा समय बिताइरहेका छन् ।
आफन्तको खोजीमा सहयोग पुगोस् भनी उनीहरूले विभिन्न स्थानमा तस्बिरसमेत टाँसेका छन् । लामो समयसम्म फेला नपर्दा आफन्तहरूले जीवितै पाउने आशा मार्दै भन्न थालेका छन्, ‘जीवित अवस्थामा त सरकारले फर्काउन सकेन, कम्तीमा शवसम्म फेला पारेर परिवारलाई बुझाइदिए हुन्थ्यो ।’
यसै घटनामा बेपत्ता हुनेमध्ये एक हुन्, महोत्तरीको जलेश्वर नगरपालिका–१० सारीका ३९ वर्षीय सुशील दास । उनले द्वन्द्वकालमा ज्यान जोगाउनकै लागि नेपाली सेनाको जागिर समेत त्यागेका थिए । सेनामा कार्यरत रहँदा माओवादीबाट ज्यान मार्ने धम्की आएपछि उनी जागिर छाडेर सवारी चालकको पेसा अँगाल्न बाध्य भएका थिए । काठमाडौँबाट पर्यटक ओसार्ने सवारी चलाउँदै आएका उनी भदौ ९ गते राति करिब २० जना पर्यटक लिएर रसुवा पुगेका थिए ।
१० गते बेलुका रसुवाबाट पर्यटक लिएर काठमाडौँ फर्कने उनको कार्यतालिका थियो । श्रीमती ममताकुमारी दासले भावविह्वल हुँदै भनिन्, ‘दैवको नियति, एक दिनका लागि त्यस्तो विपद् नआइदिएको भए हुन्थ्यो । उहाँ बेपत्ता भएको यति दिन भइसक्यो, सबैतिर खोजबिन गर्यौं , तर कतैबाट खबर छैन ।’ उनले अनुनय गरिन्, ‘तपाईंहरूले पनि खोजबिनको पहल गरिदिनुहोस् न ।’
ममताका अनुसार सुशीलले हायसमा लिएर गएका पर्यटकहरू र भोलिपल्ट काठमाडौँ ल्याउनुपर्ने अन्य पर्यटकहरू समेत बेपत्ता छन् । सुशीलका चार छोराछोरी छन् । घरमा राखेर पढाउन सम्भव नभएपछि उनले दुई सन्तान र श्रीमतीलाई सिन्धुलीमा कोठा भाडामा लिएर राख्दै आएका थिए ।

सुशील बेपत्ता भएपछि श्रीमतीसहित २० वर्षीया मुस्कान, १८ वर्षीया मनिसा, १५ वर्षीय विशाल र १० वर्षीय बिटु सहाराविहीन बनेका छन् । ‘यी लालाबालालाई अब मैले कसरी पढाउने, कसरी पाल्ने ?’ ममताले पीडा पोखिन्, ‘छोरीहरू कलेजमा वकिल र प्राविधिक विषय पढ्दैछन्, छोराहरू विद्यालयमा छन् । अब उनीहरूको पढाइ खर्च कसरी जुटाउनु ?’
आँखाभरि आँसु पार्दै ७० वर्षीया आमा सुमित्रादेवीले भनिन्, ‘सेनामा राम्रो जागिर थियो, माओवादीले जागिर नछाडे मारिदिने धम्की दिएपछि ज्यान जोगाउन ड्राइभर बनेको थियो । अहिले यस्तो भयो । सरकारले खोजेर ल्याइदेला नि बाबु ?’
छोराको न्यास्रोले उनको भोक–निद्रा हराएको छ । सुशीलकी भाउजूका अनुसार छोरा बेपत्ता भएपछि सुशीलका बुवाको स्वास्थ्य अवस्था झन् बिग्रिएको छ, तर आफन्तको मृत्यु संस्कारमा जानैपर्ने भएपछि उनी सकीनसकी त्यता गएका छन् । घरमा आउने जोकोहीलाई उनले सोध्ने गर्छन्, ‘सुशील कहिले आउँछ ?’
आमा सुमित्राले गत वैशाखमा नातिनीको छेक्का (छैठी) मा छोरासँग अन्तिम भेट भएको र त्यसपछि फोनमा मात्र कुरा भएको बताइन् । श्रीमती ममताले भने भदौ १० गतेको घटनाबारे भोलिपल्ट मात्र थाहा पाएकी थिइन् । काठमाडौँबाट छोरीले फोन गरेर बुवा बेपत्ता भएको खबर सुनाउँदा उनी अचेतजस्तै बनेकी थिइन् । अघिल्लो शुक्रबार सुशील घर आएर एक रात बसेका थिए, जुन नै परिवारसँगको अन्तिम भेट बन्यो ।

घटनापछि परिवारका सदस्यहरूले काठमाडौँ, रसुवा, चितवन र पोखरासम्म पुगेर खोजी गरे पनि कुनै पत्तो पाउन सकेका छैनन् । ‘सास त गयो, अब लास पनि नपाउने हो कि भन्ने चिन्ता छ,’ ममताले भनिन्, ‘अब सरकारले राहत र छोराछोरीको भविष्यका लागि ठोस बाटो बनाइदिनुपर्छ ।’
रसुवाको भोटेकोशी बाढीमा परी महोत्तरीका १७ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् भने १० जना अझै बेपत्ता छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीमा परी मधेस प्रदेशका १७८ जना बेपत्ता छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।
