काठमाडौँ । टिकटकमा नक्कली प्रोफाइल बनाएर सस्तो मूल्यमा ईभी स्कुटर तथा मोटरसाइकलका पार्टपूर्जाहरू बिक्री गर्ने बहानामा अनलाइन ठगी गर्ने तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सर्लाहीका २१ वर्षीय सन्दिप कुमार सिंह कुशवाहा, सप्तरीका २१ वर्षीय सुमित दास र महोत्तरीका २२ वर्षीय दिपुष सिंह रहेका छन् । कुशवाहा र दास ललितपुरको ग्वार्कोमा बस्दै आएका थिए भने सिंह काठमाडौँको गोकर्णेश्वरमा बस्दै आएका थिए। उनीहरूलाई भदौ १६ गते काठमाडौँको कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कुशवाहा र उनको समूहले टिकटकमा सर्टिफाइड इभी सेलर, स्कुटर सोरुम, बाइकर गियर र अस्मा कलेक्सन अनलाइन जस्ता नामका नक्कली खाताहरू सञ्चालन गरेका थिए। ती खाताहरूमा उनीहरूले बजार मूल्यभन्दा निकै सस्तोमा विद्युतीय स्कुटर र मोटरसाइकलका पाटपूर्जाहरू घरमै पुर्याइदिने भन्दै लोभलाग्दो विज्ञापन राख्ने गर्दथे।
ग्राहकहरू सम्पर्कमा आएपछि उनीहरूले ह्वाट्सएपमार्फत कुराकानी गरी विश्वास दिलाउँथे र सामान पठाउनुअघि नै अग्रिम भुक्तानीका नाममा मोटो रकम माग गर्दथे। पीडितहरूले पैसा पठाउनासाथ उनीहरू सम्पर्कविहीन हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका क्रममा यो समूहले मानिसहरूलाई झुक्याउन एआईको समेत प्रयोग गरेको पाइएको छ। उनीहरूले आफूहरू समाजसेवी भएको देखाउन प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको नक्कली भुक्तानी रसिद बनाएर प्रचार गर्ने गरेका थिए।
यति मात्र नभई उनीहरूले सामान सुरक्षित गर्न पूर्व बुकिङ गर्नुपर्ने बहानामा ग्राहकहरूबाट नागरिकताको प्रतिलिपि माग्ने गर्दथे। प्राप्त नागरिकतामा कृत्रिम बौद्धिकताको प्रयोग गरी अर्कै व्यक्तिको तस्बिर टाँसेर कीर्ते कागजात तयार पारिन्थ्यो। सोही कीर्ते कागजातका आधारमा विभिन्न डिजिटल वालेटहरू फोनपे, आइएमई पे, सिटी पे आदिमा खाता खोली ठगीको रकम कारोबार गर्ने गरेको भेटिएको छ।
पक्राउ परेका कुशवाहा र उनका सहयोगीहरू सुमित दास र दिपुष सिंहमाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले सामाजिक सञ्जालमा देखिने सस्तो अफरहरूको लोभमा नपर्न र अपरिचित व्यक्तिलाई आफ्नो नागरिकता वा व्यक्तिगत कागजात नबुझाउन सर्वसाधारणलाई सचेत गराएको छ।