जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। स्थानीय विनोद दासकी २० वर्षीया पत्नी प्रियंका दास आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार आइतबार बेलुकी करिब ६:५० बजे प्रियंका आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। मृतकका श्रीमान् विनोदले नै पासो खोली शवलाई ओछ्यानमा राखेको जनाइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ कपिलेश्वर प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थललाई नियन्त्रणमा लिई सुरक्षा दिएको थियो। यद्यपि, मृतकका आफन्त र स्थानीयवासीले
‘हत्या’ भन्दै निष्पक्ष छानबिनको मागसहित अबेर रातिसम्म प्रहरी प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीयको विरोधका कारण हालसम्म शवको मुचुल्का उठाउन सकिएको छैन। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मृतकका श्रीमान् विनोद दासलाई प्रारम्भिक सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
धनुषा प्रहरीले आजै मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।