काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित किराना पसलमा राखिएको १० लाख रुपैयाँ नगद चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित किराना पसलमा राखिएको नगद १० लाख रुपैयाँ चोरी गरी फरार रहेका व्यक्ति काठमाडौँमा लुकिछिपी बसेको भन्ने विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्दै आएका ३६ वर्षीय हिरालाल ब्लोन रहेका छन्।
प्रहरीका अनुसार उनलाई असोज १८ गते बिहान करिब ११ बजे काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा ब्लोनलाई चोरी घटनामा संलग्न रहेको आरोपमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।