सुनसरी । पशुपतिनाथ मन्दिर प्रवेश गरेको घटनालाई लिएर विवादमा आएकी इटहरीकी प्रियंका परियारलाई प्रहरीले पक्राउ गरेको छ। गौशाला प्रहरी वृत्तको आदेशमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले परियारलाई इटहरीको गैंसारबाट नियन्त्रणमा लिएको हो।
परियारले मुस्लिम समुदायका ओसिम अन्सारीसँग प्रेम विवाह गरेकी थिइन्। अन्सारी इटहरीस्थित ‘आकाश कलेक्सन’का पूर्वसञ्चालक हुन्। विवाहपछि परियारले आफ्ना श्रीमान् अन्सारीलाई साथै लिएर पशुपतिनाथ मन्दिर प्रवेश गरेकी थिइन्।
अन्सारीको धर्म र मन्दिर प्रवेशको विषयलाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न वृत्तमा विवाद उत्पन्न भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नुअघि परियारले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्दै स्पष्टीकरण दिएकी थिइन्। उनले आफूले जिद्दी गरेरै श्रीमान् अन्सारीलाई मन्दिर लगेको स्वीकार गरेकी छन्। पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र रहेको बताउँदै उनले श्रीमान्लाई पनि श्रद्धाका साथ सँगै लिएर गएको उल्लेख गरेकी थिइन्।
यद्यपि, मन्दिर प्रवेशको विषयलाई लिएर सामाजिक सद्भाव खल्बल्याउन खोजेको वा धार्मिक नियम उल्लंघन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको बुझिएको छ। यस सम्बन्धमा थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।