
बागमती : सर्लाही जिल्ला भन्नासाथ अहिले सबैको दिमागमा बागमती नगरपालिकामा रहेको ‘भरत ताल’ को चित्र मानसपटलमा घुम्न थाल्छ । मधेसको ठाउँमा बनाइएको १२१ बिघामा फैलिएको विशाल तालले आसपासका मात्र नभइ भारतीय पर्यटकलाई समेत तान्यो । तालमा राखिएका मोटरबोटमा शयर गर्नेको कहिल्यै कमी भएन । नेपालमा टिकटक प्रतिबन्ध नहुँदा भरत तालमा भिडिओ बनाउनेको घुँइचो लाग्थ्यो । भरत ताल बनेपछि देशभरि सर्लाही जिल्लाको चर्चा चुलियो । सबैले सर्लाही जिल्लालाई चिन्न थाले । सर्लाहीको आइकन नै बन्न पुग्यो भरत ताल ।
भरत ताल सामान्य अठोटले बनेको थिएन । नगरपालिकाले ठूलो आँट र प्रयासमा बनेको हो । जुन प्रयासका कारण देशभर नै जिल्लाको नामसमेत चर्चित हुन पुग्यो । सीमावर्ती भारतमा पनि भरत ताल प्रसिद्ध छ । अंग्रेजी नयाँ वर्षका बेला ताल परिसरमा भारतीय पर्यटकको घुइँचो थेगिनसक्नु हुन्छ । तालसँगै एक छेउमा एडभेन्चर स्काई साइक्लिङ, घोडचढी, उँटचढी, बालबालिकाका लागि खेल्ने सामग्रीसमेतको पार्क छ । तालकै छेउमा तयार हुँदै गरेको एक सय बिघा क्षेत्रफलको नगर बगैँचा पर्यटकका लागि अर्को आकर्षणको केन्द्र बनिरहेको छ । ताल बनेसँगै रोजगारी पनि व्यापक वृद्धि भएको छ । ताल किनारको व्यापार व्यवसाय पनि फष्टाएको छ।
मधेस प्रदेशकै पर्यटकीयस्थल बनाउने अभियानको अगुवाइ गर्ने नगरपालिकाका मेयर भरत थापाकै नामले ताल प्रसिद्ध हुन पुगेको हो । नगरपालिकाले माछा पोखरी बनाएको भए पनि त्यहाँ पुग्ने पर्यटकले भरत तालको रुपमा त्यसको प्रचार गरेपछि अहिले यही नामले चिनिन थालेको छ । देशव्यापी चर्चामा आउनेगरी काम गरेपछि थापासँग रिस गर्नेहरू पनि बढेको उनी निकटहरू बताउँछन् ।
त्यत्रो ताल बनाएर नगरपालिका र जिल्लाकै नाम राख्ने मेयर भरत थापालाई भने अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा मुद्दा दर्ता गरेको छ । भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिटी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान गरि थापासमेत माथि विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । त्यसअघि उनीमाथि सम्पत्तिकाे स्रोत नखुलेकोमा अर्को मुद्दा पनि विशेष अदालतमा दर्ता छ ।
विकासका काममा कुनै सम्झौता नगरी अघि बढ्दै जाँदा रिस गर्नेहरूले उनीमाथि उजुरी दिएको उनको कामको प्रशंसकहरूको आरोप छ । ‘यसरी काम गर्नेमाथि अनेकौं झन्झट लगाउने प्रवृत्तिले देशलाई विकास हुनबाट रोक्छ,’ छिमेकी हरिवनका विवेक मैनालीले भने, ‘काम गर्नेलाई मुद्दा लाग्ने भएपछि कसले काम गर्छ ? काम गर्नेलाई मनोबल बढाउनु पो पर्ने हो । सत्यले सुरुमा दुःख पाए पनि जित सत्यकै हुन्छ भन्नेमा हामी ढुक्क छौं ।’
मुद्दा दर्ता भएपछि निलम्बित मेयर थापाले ‘बगरलाई पर्यटकीय शहर बनाउनु नै अभिशाप भएको’ प्रतिकृया दिएका छन् । काम नगरी कागज मिलाउनेहरू सम्मानित हुने र काम गर्नेहरू अपमानित हुनुपरेको उनको गुनासो छ ।
मुद्दा दर्ता भएपछि फेसबुकमा लामो स्टाटस लेख्दै ताल निर्माणका क्रममा भएका कामहरूको फेहरिस्त सार्वजनिक गरेका छन् । विधि र प्रक्रिया पुर्याएर काम गरेको उनको जिकिर छ । उनले ताल बनाउँदा उत्खनन गरिएको ढुंगा, गिटी र बालुवाका विवरण पनि फेसबुकबाट सार्वजनिक गरेका छन् ।
बागमती नगरपालिकामा राम्रो काम गरेकै कारण दोस्रो पटक पनि थापाले चुनाव जिते । उनको पालामा पालिकामा भएको परिवर्तनलाई स्थानीयले पनि कल्पनाभन्दा बाहिरको भनेर प्रशंसा गरेका छन् । अहिलेको परिवर्तन उनीबाहेक अरु मेयर भएको भए असम्भव हुने स्थानीयको भनाइ छ । राम्रो गर्नेलाई दुःख दिएको भन्दै स्थानीयले उनको पक्षमा ऐक्यवद्धता जनाएका छन् ।
वेभटिभी खबरबाट