लहानः सिरहामा मामाको छोराले चिर्पटले हानेर फुपूको छोराको मृत्यु भएको छ।
गोलबजार नगरपालिका-१० धर्मपुरका २८ वर्षीय फेकु भन्ने संजय सदाले आफ्नै फुपूको छोरा ४० वर्षीय गेनी सदायको हत्या गरेका प्रहरीले जनाएको छ। सामान्य विवादले उग्र रूप लिँदा संजयले चिर्पट प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खाना खाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो । विवादकै क्रममा संजयको चिर्पट प्रहारबाट गम्भीर घाइते दाइ गेनीको उपचारको क्रममा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर शुनिल कार्कीले जानकारी दिए ।
मदिरा पिएर मातेका कारण झगडा चिर्पट हानाहानमा पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । हत्या आरोपित संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटना राति नै भए पनि प्रहरीले बिहान ५ बजेमात्र जानकारी पाएको थियो। जानकारी पाउनसाथ पुगेका अचेत अवस्थामा रहेका गेनीलाई उपचारका लागि गोलबजारस्थित अस्पतालमा लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।