देशभर भारी वर्षा, मधेशमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ : आजदेखि आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएको छ। जसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली भइरहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ। साथै मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको जनाइएको छ।

त्यसैगरी आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाइएको छ। बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

सबै