महोत्तरी : महोत्तरीबाट सशस्त्र प्रहरीका असई थमन विकका हत्या आरोपी पूर्व प्रदेश सांसद पक्राउ परेका छन्।
शनिबार साँँझ भएको सवारी दुर्घटनापछि असई विकको हत्यामा कर्तव्य ज्यानका मुद्दामा ८ वर्षदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका फरार अभियुक्त पूर्वप्रदेश सांसद कौशल कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।
महोत्तरीको सम्सी गाउँपालिकाको वडा नम्बर ५ मा भएको दुर्घटनापछि उनी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको हो। यादवलाई प्रहरीले महोत्तरीकै पोखरभिण्डाबाट पक्राउ गरेको हो।
यादव ८ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त थिए। तर शनिबार भएको दुर्घटनामा सोधपुछ गर्ने क्रममा उनलाई प्रहरीले पहिचान गरी तत्कालै प्रकाउ गर्न सफल भएको हो।
असई विकको हत्या सम्बन्धमा महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि लोसपा नेतासमेत रहेका सांसद यादव फरार थिए।
शनिबार साँझ भारतीय नम्बरको डीएल ३ सीएवाई ८६१५ नम्बरको स्कारपियोलाई र विपरीत दिशाबाट आइरहेको प्रदेश २–ं०२–००१च ००४५ नेपाली नम्बरको महिन्द्रा पिकअप गाडीले ठक्कर दिँदा भारतीय नम्बरको गाडीमा सवार ३ जना घाइते भएका थिए।
ठक्कर दिएर घटनास्थलबाट भाग्ने क्रममा प्रहरीले नेपाली नम्बरको पिकअपका चालकसहित २ जनालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि ठक्कर दिने चालकसँग बयान लिँदा उनी ८ वर्षदेखि कर्तव्य ज्यान मुद्दाको फरार अभियुक्त रहेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका यादवलाई आइतबार जिल्ला अदालत महोत्तरीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
यादव २०७४ सालको निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। तर २०७९ सालको निर्वाचनमा भने उनी पराजित भएका थिए।
उनलाई गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले निष्काशन गरेको थियो।
असई विकको हत्यामा संलग्न रहेको अभियोगमा मधेशका सांसद तथा लोसपा संसदीय दलका नेता अभिराम शर्मालाई पनि अदालतले जन्मकैदको सजाय दिएको थियो। तर उनी अझै फरार छन्।
महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले असई विकको हत्याकाण्डमा नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरी र पवन कापरलाई भने सफाइ दिएको थियो।