कटहरियाका मेयर, उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहट : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश, उपमेयर रीता देवी र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कटहरिया नगरपालिका-२ जमुनिया बजारको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा गरेको भन्दा धेरै काम देखाएर उपभोक्ता समितिलाई भुक्तानी दिएको आरोपमा अख्तियारले मेयर, उपमेयर, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिशबिक्रम शाह र मनोज प्रसाद जैसवाल, इन्जिनियर मो मकसुद आलम, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

आर्थिक वर्य २०७८/०७९ मा सामुदायिक भवनमा टायल्स फ्लोरिङको काम उपभोक्ता समिति मार्फत गराइएको थियो।

त्यस क्रममा भुक्तानी सिफारिस भएको नापी किताबमा १ हजार १९४.४१ वर्गमिटरमा टायल्स फ्लोरिङ भएको उल्लेख भए पनि फिल्डमा ७२०.८१ वर्गमिटर मात्र फ्लोरिङ भएको पाइएको अख्तियारको भनाइ छ।

काम भएको भन्दा ४७३.६० वर्गमिटर बढीमा फ्लोरिङ भएको देखाएर १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर अजयप्रकाश, उपमेयर रीता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, कार्यपालिका सदस्यहरू समिशविक्रम साह र मनोजप्रसाद जैसवाल निलम्बनमा परेका छन्।

सम्बन्धित समाचार

सबै