मुख्यमन्त्री सिंले भने, ‘विद्यालय तहबाटै खेलकुदको विकास गर्न जरुरी छ’

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले देशका लागि अनुशासित, सभ्य तथा सु–संस्कृत नागरिक तयार गर्न विद्यालय तहबाट नै खेलकुदको विकासमा लाग्नुपर्ने बताएका छन्।

त्यसका लागि प्रदेश सरकारले खेलकुद ऐन बनाउने तयारी गरेको उनले जानकारी दिए।

ओलम्पिक दिवस २०२४ का अवसरमा मधेश प्रदेश स्पोर्टस फर अल कमिसनद्वारा सञ्चालन भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गर्दै आज जनकपुरधामा उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री सिंहले नियमित खेलकुदको अभ्यासका लागि जनकपुरधाम, राजविराज तथा वीरगञ्जमा स्तरीय रङ्गशाला निर्माण गर्न सरकारले योजना अगाडि बढाउने उल्लेख गरे।

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले खेलकुदको विकासका लागि उपमहानगरले विभिन्न वडामा खेलकुद मैदान निर्माणमा जोड दिनुका साथै विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक दिवसका अवसरमा मधेश प्रदेशले विभिन्न विद्यालयमा खेलकुदको आयोजना गरेर निकै सराहनीय काम गरेको बताए।

कमिसनका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख बजरङ्गप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव एवं सङ्कटमोचन देवशरण रामरती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम साह सहितका वक्ताहरूको सहभागिता थियो।

सम्बन्धित समाचार

सबै