हरिवनः दाइजोको नाममा बुहारीमाथि कुटपिट गरेको आरोपमा हरिवन प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।
हरिवन नगरपालिका नयाँरोडकी कञ्चन रौनियारले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि उनका ससुरा सुरेन्द्र गुप्ता र अरुण कुमारी गुप्ता सासूलाई हिजो बेलुका नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले सर्लाही न्युजलाई बताए। पक्राउ परेका दम्पतीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने गिरीले बताए।
मोरङ माइती भएकी कञ्चन रौनियारले केही दिनअघि फेसबुकमार्फत आफूमाथि कुटपिट भएको भन्दै फेसबुकमा लेखेकी थिइन्। ५० लाख दाइजो नल्याएको भन्दै सासूससुरा र श्रीमान् रोहित गुप्ताले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन्।
उनको उक्त स्टाटस आएपछि जिल्लामा यसले ठूलो रूप लिएको थियो। आफूमाथि पहिल्यैदेखि घरका सदस्यले पटक पटक यातना दिँदै आएको पनि उनले फेसबुकमार्फत जानकारी दिएकी थिइन्।
आफूमाथि अन्याय भएपछि न्याय माग्न हारगुहार गर्दा पनि नपाएको उनले गुनासो गरेकी छन्।
‘न्यायिक समितिमा ८० साल असोज ६ गते छलफ भएको थियो। मिलाइदिएका थियौँ। त्यसदिन विवाह दर्ता गर्न लगाएका थियौँ। धेरै बुँदामा सहमति गराएका थियौँ’, न्यायिक समतिमा रहेका हरिवन नगरपालिका वडा नम्बर ११ का अध्यक्ष शेख महबुबले बताए।
कञ्चन र रोहितबीच सहमति गराउन आफ्नो धेरै ठूलो भूमिका रहेको उनले बताए।
यता कञ्चनका श्रीमान रोहित गुप्ताले भने आफूले श्रीमतीमाथि हात नगरेको फेसबुकमार्फत स्पष्टीकरण दिएका छन्।