
रौतहट : विद्युतीय तार जथाभावी अरूको खेतमा छाड्दा मृत्यु भएको भन्दै रौतहटमा दुई जनाविरुद्ध ज्यानसम्बन्धी मुद्दा दायर गरिएको छ।
स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दायर गरिएको हो।
पोलबाट जथाभावी रूपमा आफ्नो खेतमा विद्युतको तार लगेका कारण सोमबार दिउँसो करेन्ट लागेर देवाही गोनाही-७ का चुनीलाल पासवानको मृत्यु भएको थियो। पासवान आफ्नै खेतमा काम गरिरहेका थिए।
पासवानको मृत्यु भएछि उनको आफन्त र परिवारले दिएको लिखित किटानी जाहेरीका आधारमा मंगलबार रामदरेश र गुल्टेनमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।
गत सोमबार पासवानको मृत्यु भएलगत्तै रामदरेश राय यादव , गुल्टेन राय यादव भने फरार रहेका छन्।
उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।