
सर्लाही : पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको प्रहरीले निष्कर्ष निकालेको छ।
रायको घरमा काम गर्ने कबिलासी नगरपालिका-३ का २१ वर्षीय रामउजैन रायले नै हत्या गरेको प्रहरीको निष्कर्ष निकालेको हो। प्रहरीले उनलाई घटनालगत्तै पक्राउ गरेको थियो। पूर्वराज्यमन्त्री रायको साउन ६ गते राति रतनपुरस्थित आफ्नै घरमा हत्या भएको थियो।
रायको घरमा राति उनै रामउजैन नै रहेका र उनले नै पूर्वराज्यमन्त्रीको हत्या भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई उनले सुरुमा राति ९ बजेतिर तीनजना व्यक्ति जग्गाको विवाद मिलाउन भन्दै आएका र आफूलाई सुत्न पठाएको बताएका थिए।
तर राति १ बजे उठेर हेर्दा रामचन्द्रको हत्या भएको आफूले थाहा पाएको र खबर गरेको सुरुवातमा बताएका थिए। तर अहिलेसम्मको छानबिनबाट हत्यामा उनको मात्रै संलग्नता देखिएको अनुसन्धानमा संलग्न अधिकारीलाई उद्धृत गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारीले बताए।
हत्याको अनुसन्धानका लागि सीआईबीको टोली पनि अहिले सर्लाहीमा खटिएको छ। अनुसन्धान टोलीले घटनामा प्रयोग भएको चक्कु त्यतिबेलै फेला पारेको थियो।
यस्तै रामउजैनले हत्या गर्दा लगाएका कपडा रगतसहित घर नजिकै लुकाएको अवस्थामा फेला पारेको छ। ती सबै सामान परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जानकारी दिएको छ।
‘हामीले अन्य कोणबाट पनि अनुसन्धान गरिरहेका छौँ। तर अहिलेसम्मको अनुसन्धानबाट उनको मात्रै संलग्नता देखिएको छ। त्यसलाई प्रमाणबाटै पुष्टि गर्न हामीले बरामद भएका सामान परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएका छौँ। त्यो रिपोर्ट आएपछि सबै कुरा सार्वजनिक गर्छौँ,’ ती अनुसन्धान अधिकारीले भने।
परिवारले भने जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई उनले मात्र हत्या गरेकोमा आफूहरुलाई शंका रहेको भन्दै अन्य व्यक्ति पनि हुनसक्ने र उनीहरूमाथि पनि अनुसन्धान गरिदिन अनुरोध गरेका छन्।
पूर्वराज्यमन्त्री रायको हत्या भएको घटनास्थल नजिकैबाट सर्लाही प्रहरीले घरेलु हतियार बरामद गरेको थियो।
८० वर्षीय रामचन्द्र धान रोपाइँका लागि घर गएका थिए।
यो पनि