
लालबन्दीः लालबन्दीमा मर्निङ वाकमा हिँडिरहेकाहरूलाई मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
घाइते हुनेहरूमा लालबन्दी नगरपालिका ध्रुवप्रसाद पोखरेल, कुलबहादुर कार्की र थानेश्वर बख्रेल रहेका छन्।
आइतबार बिहान साढे ६ बजे लालबन्दी बजारबाट रानीगन्जतर्फ जाँदै गरेको कैलाश पाउरोटी उद्योगको पाउरोटी डेलिभरी गर्ने २४ वर्षीय भारतीय नागरिक गुड्डुकुमार यादवले चलाएको मोटरसाइकलले उनीहरूलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परेका घाइतेहरूलाई लालबन्दीमै रहेको मोडल अस्पतालमा उपचार गराई काठमाडौँ रिफर गरिएको छ। घाइतेमध्ये बख्रेलको अवस्था गम्भीर रहेको जनाइएको छ।
दुर्घटना गराउने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।