नागरिकता मुद्दामा वीरगञ्जबाट एक भारतीय नागरिक पक्राउ

वीरगञ्जः नागरिकतासम्बन्धी मुद्दामा पर्सा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ बस्दै आएका भारतीय नागरिक निरञ्जन अग्रवाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सामा ६ वर्ष अगाडि दर्ता भएको नागरिकतासम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जनाएको छ। महानगरको आदर्शनगरबाट अग्रवाललाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोद ढुंगेलले जानकारी दिए।

उनका अनुसार ०७६ साल चैत १४ गते अग्रवालमाथि नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएपछि प्रहरीले उनलाई व्यापक रूपमा खोजिरहेको थियो।

प्रहरीमा परेको जाहेरीका अनुसार अग्रवालको घर राजस्थान उल्लेख छ। तर पर्साबाट गलत विवरणका आधारमा उनले २०६३ सालको फागुन १८ गते नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयको रेकर्डमा उल्लेख छ।

पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनलाई नागरिकतासम्बन्धीको मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै