जनकपुरधामः शास्त्रीय संगीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेश प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ।
प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।
मधेशका मुख्यमन्त्री शतिशकुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै स्व कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार मधेस प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने जानकारी दिए। कामतले शिक्षा, चेतना र संस्कार उन्नयनमा संगीत विधालाई आजीवन अघि बढाएको वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा मुख्यमन्त्री सिंहले अत्यन्त प्रभावशाली ढंगले गीतसंगीतका माध्यमबाट भावनात्मक, आध्यात्मिक, सामाजिक एवम् सांस्कृतिक विषयवस्तुलाई अभिव्यक्त गर्न सम्पूर्ण जीवन व्यतीत गरेका दिवंगत गुरुदेवप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरे।
कामतको सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डामा बिहीबार निधन भएको थियो।