सामान्य वर्षा हुँदा पनि डुब्यो स्वास्थ्यचौकी

सिरहा : पानीको निकास नहुँदा सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकी जलमग्न भएको छ।

स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि अस्पताल क्षेत्र जलमग्न हुँदै आएको छ।

पानी निकासबारे पटकपटक सम्बन्धित निकायमा पहल गरिए पनि आश्वासन मात्र पाइएको अस्पतालका सिनियर अहेब जगत सिंहले बताए। ‘वरिपरि अन्य संरचना बनेपछि अस्पताल क्षेत्र होचो हुँदा सामान्य वर्षामै पोखरीमा परिणत हुन्छ। यसले अस्पतालमा बिरामीको सेवा प्रभावित हुँदै आएको छ,’ सिंहले भने, ‘पानीको निकासका लागि सम्बन्धित निकायमा पटक-पटक अनुरोध गर्दै आएका छौँ। नगरपालिकाबाट केही ट्याक्टर माटो हाल्ने काम गरिए पनि पानी निकासको काम अगाडि नबढ्दा समस्यामा छौँ।’ साथै उनले अस्पताल जस्तो संवेदलशील क्षेत्रमा पानी जम्ने समस्या हुँदा पानीजन्य सङ्क्रामक रोग फैलिने सम्भावना उत्तिकै रहेको बताए।

अस्पताल क्षेत्रको सडकमा नाला निर्माण पूरा नहुँदा समस्या भएको सोही क्षेत्रका वडाध्यक्ष्य किशोरीप्रसाद चौधरीले जानकारी दिए। आधा नाला अघिल्लो नगरप्रमुखको कार्यकालमा निर्माण भइसकेको र आधा काम बाँकी रहेकाले नगरपालिकासामु पटक–पटक पहल गरिए पनि सुनुवाइ हुन नसकेको उनको गुनासो छ। ‘नगरसामु अनुरोध गर्‍यो, वडाले बनाउनु भन्नुहुन्छ।  हाम्रो स्रोत र साधनले भ्याउँदैन’, उनले भने।

पानी निकासमा आएको समस्याबारे बुझेर चाँडै निराकरण गर्ने नगरप्रमुख रामऔतार यादवले बताए।

सम्बन्धित समाचार

सबै