
बर्दिबास : महोत्तरी मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा बसेका छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्।
बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो। बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय घर खरानी भएका थिए।
अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले त्यसको निम्ति प्रयास भइरहको जनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहयोगका निम्ति अपिल गरेको बताएका छन्।
मटिहानी नगर कार्यपालिकाको आकस्मिक बैठकले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। अहिले नगरप्रमुखसहितका जनप्रतिनिधि र कार्यालयका कर्मचारी राहत सामग्री वितरणमा लागेका छन्।
नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले प्रभावित परिवारलाई भाँडावर्तन प्रदान गरेको बताएको छ। महोत्तरी रेडक्रस शाखाका सभापति दीपक मिश्रले आफूहरू सहयोगका निम्ति जुटेको बताएका हुन्।