
वीरगञ्ज : पर्साका जिराभवानी गाउँपालिका-५ का ६० वर्षीय तुलसी राउत थारूको गत भदौ ७ गते घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट ज्यान गयो।
सो घटनाको भोलिपल्ट मात्र उनको बाघले आक्रमण गरेर क्षतविक्षत् अवस्थामा रहेको शव भेटिएको थियो। थारूलाई आक्रमण गर्ने बाघ पर्सा राष्ट्रिय निकुञ्जबाट एक किलोमिटर टाढा रहेको बस्तीमा आइपुगेको थियो ।
वन्यजन्तु र मानवबीच द्वन्द्वको यो पहिलो घटना होइन। यसअघि पनि २०८१ वैशाख २९ गते पर्साको सखुवा प्रसौनी गाउँपालिका-१ औराहाका भीमबली महतो थारू आफ्नो मकैबारीमा पुगेका बेला बाघले आक्रमण गरेर गम्भीर घाइते भएका थिए।
आक्रमण गर्नेबित्तिकै तत्कालै स्थानीयवासीको होहल्लाका कारण बाघले छाडेको थियो। सो बाघलाई स्थानीयवासीले घेराबन्दी गरेर बञ्चरो, भाला र लठ्ठीले हानेर मारेका थिए।
पर्सामा पछिल्लो समय वन्यजन्तु र मानवबीच भएका द्वन्द्वका केही प्रतिनिधिमूलक घटना हुन् यी। पछिल्लो समय जिल्लामा वन्यजन्तु र मानवबीचका द्वन्द्वका घटना बढोत्तरी हुँदै आइरहेका छन्।
डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले जिल्लामा वन्यजन्तु र मानवबीच द्वन्द्वका घटनामा वृद्धि भइरहेको बताउँछन्।
‘पानीका स्रोत सुकेसँगै तिर्खाएका वन्यजन्तु आफ्नो प्यास मेट्नका लागि बस्तीमा आउने गर्छन्। सो क्रममा वन्यजन्तु र मानवबीच द्वन्द्व सृजना हुँदै आइरहेको छ’, उनले भने, ‘उमेर ढल्केका बाघहरू सिकारको खोजीमा गाउँबस्तीमा आउँदा पनि वन्यजन्तु र मानवबीचको द्वन्द्व भइरहेको छ।’ कार्यालयका अनुसार पछिल्ला वर्ष वन्यजन्तु मकै र उखुलगायत बाली खान बस्तीमा प्रवेश गर्ने गरेको भेटिएको जनाएको छ।
प्रमुख कर्णले निकुञ्ज क्षेत्रमा रहेका वन्यजन्तुका लागि पानीका पोखरी निर्माण गर्न आवश्यक रहेको बताए। डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा पर्सामा वन्यजन्तु र मानवबीच द्वन्द्व हुँदा तीनवटा बाघ मारिएको थियो। एउटा घाइते बाघको रेक्स्यू गरेर उपचार गरिएको थियो।
२०८० फागुन १६ गतेमा मनवा सबडिभिजनको जंगल क्षेत्रमा स्थानीयवासीलाई बाघले आक्रमण गरेपछि प्रतिकारमा सर्वसाधारणले बाघ मारिदिएका थिए।
त्यस्तै २०८० को फागुन १९ गते रंगपुर सबडिभिजन वन कार्यालय मातहत क्षेत्रमा पर्ने जंगलमा पनि मानव र वन्यजन्तुबीच द्वन्द्व भएपछि सो घटनामा पनि एउटा बाघ मारिएको थियो।
त्यस्तै २०८० चैत १ गते पर्साको रंगपुर क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको थियो।