रामेछापका विभिन्न स्थानमा चोरीः सर्लाहीका दुई महिलासहित ७ जना जेल चलान

मन्थली : रामेछापका विभिन्न स्थानमा चोरीका सामानसहित पक्राउ परेका सर्लाहीका दुई जनासहित सात जनालाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ।

पुर्पक्षका लागि कारागार चलान हुनेमा सर्लाही जिल्ला ब्रह्मपुरी गाउँपालिका-६ का अन्दाजी ४० वर्षीया कुसुम कुमारी र १९ वर्षीया सुनिता कुमारी रहेका छन्।

त्यस्तै हेटौँडा उपमहानगरपालिका–१ लालझाडी घर भई मन्थली नगरपालिका–१ बसपार्क बस्ने ४५ वर्षका सरोजकुमार विश्वकर्मा, मन्थली नगरपालिका– १ बसपार्क बस्ने ३४ वर्षका हर्कबहादुर भुजेल, सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–२ भिमस्थानका ४५ वर्षका नरेश लामा र धनुषा जिल्ला मिथिला नगरपालिका–४ पुष्पलपुरका ३० वर्षका धनराज बम्जन रहेका छन्।

यसैगरी भारत विहार दोस्तीयाथाना–७ बस्ने अन्दाजी ३२ वर्षका तपश्वेर महतोलाई पनि कारगार चलान गरिएको छ।

उनीहरूको समूहले साउन ३१ गते मन्थली नगरपालिका–४ सालु सामलस्थानका सोमबहादुर खत्रीको घरबाट मोबाइल चोरी गरेको आरोप छ।

उनीहरूले विभिन्न मितिमा रातको समयमा मन्थली नगरपालिकाका विभिन्न नागरिकहरुको घरमा चोरी गरेका थिए। जसमध्ये साउन ३१ गते मध्यराति मन्थली नगरपालिका–१ स्थित वीरबहादुर तामाङको घर फोरेर गरगहना, नगद तथा भाडा वर्तन चोरी गरेका थिए।

त्यसै असार १५ गते राति मन्थली नगरपालिका–१ खाँदवारीस्थित यमबहादुर थापाको घरको मूल ढोकामा राखिएको दुई वटा पित्तलको गाग्री र २ वटा तामाको कलश चोरी गरेका थिए।

जिल्ला अदालतको आदेशपछि सबै जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिएका हुन्।

सम्बन्धित समाचार

सबै