
सिरहा : सिरहाका विभिन्न स्थानीय तहहरूमा भ्रष्टाचार भएको भन्दै व्यापक उजुरी पर्न थालेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध दुई सय ७० उजुरी परेको जानकारी दिएको हो।
बिहीबार सुखीपुर नगरपालिकाको सभाहलमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुुशासन प्रवर्द्धन’ विषयक स्थानीय तहस्तरीय अन्तर्क्रिया अख्तियारका सहायक प्रवक्ता तथा सूचना अधिकारी देवीप्रसाद थपलियाले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।
प्रवक्ता थपलियाका अनुसार उजुरी परेकामध्ये २६ वटा मुद्दा फर्स्योट भइसकेको र बाँकी दुई सय ४४ प्रक्रियामा रहेका छन्। जिल्लाका १७ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी औरही गाउँपालिकाका ४६ वटा रहेका छन्। जसमध्ये चार वटा मुद्दा फर्स्योट भइसकेका छन् भने ४२ वटा बाँकी छन्।
लहान नगरपालिकाविरुद्धको १६ उजुरीमध्ये एक फर्स्योट भएका, सिरहा नगरपालिकाविरुद्ध परेका २७ उजुरीमध्ये पाँच वटा फर्स्योट भएका, गोलबजार नगरपालिकाविरुद्धका २३ वटा उजुरीमध्ये एउटा फर्स्योट भएका, मिर्चैया नगरपालिकाविरुद्ध १३ वटा उजुरीमध्ये एउटा फर्स्योट भएको, भगवानपुर गाउँपालिकाविरुद्ध १२ वटा उजुरीमध्ये एउटा फर्स्योट भएको छ।
त्यस्तै विष्णपुर गाउँपालिकाविरुद्धको १८ मध्ये दुई वटा फछ्र्यौट भएको, नरहा गाउँपालिकाविरुद्धको सात वटा उजुरीमध्ये एउटा फर्स्योट भएको, सखुवानन्कारकट्टी गाउँपालिकाविरुद्धको पाँच वटा उजुरीमध्ये एउटा फर्स्योट भएको छ।
धनगढीमाई नगरपालिकाविरुद्ध १२ वटा, सुखीपुर नगरपालिकाविरुद्ध १५ वटा, बरियारपट्टी गाउँपालिकाविरुद्धकोे पाँच वटा, लक्ष्मीपुर पतारी गाउँपालिकाविरुद्धकोे तीन वटा, अर्नमा गाउँपालिकाविरुद्ध ११ वटा र नवराजपुर गाउँपालिकाविरुद्ध पाँच वटा उजुरी परेको थियो ।
कार्यक्रममा सुखीपुर नगपालिकाका नगरप्रमुख रामअवतार यादवले दुश्मनी साँध्न र काम हुन नदिने मनसायका साथ उजुरी हाल्ने गरिएको दाबी गरे।
अख्तियारको बर्दिबासस्थित कार्यालयले मधेश प्रदेशअन्तर्गत सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बू तथा बागमती प्रदेशको सिन्धुली र रामेछाप गरी नौ वटा जिल्लालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको छ।