रौतहट : रौतहटको राजपुरमा हैजाको प्रकोप फैलिन थालेपछि स्थानीय त्रसित बनेका छन्।
स्थिति गम्भीर देखिएपछि प्रादेशिक अस्पतालका गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरको नेतृत्वमा अस्पतालका अध्यक्ष महमद अनवर हाशमी, इमर्जेन्सी इन्चार्ज डा. राजेशकुमार सिंह, डा.गोपाल गुप्तालगायतका स्वास्थ्यकर्मीहरू विशेषज्ञहरूको टोली शनिबार आवश्यक औषधि र सामग्रीसहित प्रभावित क्षेत्रमा खटिएका छन्।
स्वास्थ्य चौकी राजपुरमा पछिल्लो दुई दिनमा २२ जना बिरामी उपचारका लागि पुगेका थिए। तीमध्ये ७ जनाको दिशाको नमुना परीक्षणका लागि गौर पठाइएको थियो, जहाँ आरडिटी परीक्षणबाट ६ जनामा हैजाको किटाणु फेला परेको पुष्टि भएको छ।
स्वास्थ्य संयोजक आलमका अनुसार राजपुरको वडा ३ र ४ मा झाडापखालाको तीव्र प्रकोप देखिएको छ। १८ जना बिरामी हाल अस्पतालमा उपचाररत छन्, जसमा १० जना महिला, ७ बालबालिका र एक पुरुष रहेका छन्। बाँकी ४ जना भने उपचारपछि घर फर्किसकेका छन्।
सर्लाही न्युजको अनुरोध : झाडापखाला र हैजा नियन्त्रणका लागि सावधानी अपनाउन जरुरी छ। सधै उमालेको मन तातो पानीको प्रयोग गर्नुहोस्। बासी, सडेगलेको वा खुला राखिएको खानेकुरा नखानुहोस्। पेट बिगार्ने खानाबाट जोगिनुहोस्। खाना खानुअघि र दिशा गरेपछि राम्ररी हात धुनुहोस्।