रौतहट : दिनभर उग्र बनेका विद्यार्थीलाई सम्झाएपछि रौतहटको देवाही गोनाही नगरपालिकाको अवस्था अहिले सामान्य भएको छ।
प्रधानाध्यापकलाई सरुवा गरेको विषयलाई लिएर देवाही गोनाही नगरपालिकाको कार्यालय दिनभर तनावग्रस्त बनेको थियो।
देवाही गोनाहीस्थित धरहरीमा रहेको जय किसान माविका प्रधानाध्यापक सञ्जयप्रसाद गुप्ताको बिनाकारण सरुवा गरेको भन्दै विद्यार्थीले दिनभर प्रदर्शन गरेका थिए।
उक्त पालिकाका मेयर प्रेमलाल साहले मनोमानी ढंगले प्रधानाध्यापकको सरुवा गरेको आरोप लगाउँदै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए।
प्रधानाध्यापक गुप्तालाई सरस्वती मावि देवाहीमा सरुवा गर्न खोजेपछि सरुवा रोक्नुपर्ने माग गर्दै विद्यार्थीले नगरपालिकाको कार्यालयमा ताला लगाएर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।
ससाना स्कुले विद्यार्थीले प्रदर्शन गरिरहँदा अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी अवस्था सामान्य बनाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रदर्शनका क्रममा ढुंगामुढाबाट एम्बुलेन्सको सिसा फुटेको छ भने तीनजना प्रहरी सामान्य घाइते भएको बताइन्।