बिहीबार दिउँसोदेखि देशभर भीषण पानी पर्ने, तराईमा ठूलो हावाहुरीको चेतावनी

काठमाडौँ : बिहीबार दिउँसोबाट देशभर भीषण पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै जनाएको छ।

आइतबार बिहानसम्म सात वटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ।

यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ। महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी गर्दा बिहीबारदेखि शनिबारसम्मका लागि २७ जिल्लामा रेडअलर्ट जारी गरेको थियो।

महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि आइतबार बिहानसम्म अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। तराईमा हावाहुरीको समेत चेतावनी दिइएको छ।

गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने आरिघोप्टे तहको वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार

सबै