लालबन्दी : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगलमा भएको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका पाँच जनाको परिचय खुलेको छ।
काठमाडौँबाट धरानका लागि छुटेको प्रदेश १–०२–००१ ख ९७३७ नम्बरको बस अनियन्त्रित भई बाँके खोलाको पुल र सङ्ग्रामपुरतर्फ जाने बाटोमा आज बिहान सवा ७ बजे दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएकामध्ये सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका-८ का २४ वर्षीय कोआलम हजामलाई लालबन्दीमा रहेको मोडल अस्पतालमा उपचारका लागि पठाइएको छ। उनको दाहिने हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
त्यस्तै अर्का घाइते सुनसरीकै हरिनगर गाउँपालिका-६ का १४ वर्षीय किशोर अब्दुल आहबको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनको दाहिने हात र ढाडमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।
यसैगरी अन्य घाइतेहरूमा धनुषा सबैला नगरपालिका-५ मखनाहाका २८ वर्षीय मुकेश रजक, सोही वडाका १७ वर्षीया प्रीति रजक र सोही नगरपालिकाकी २५ वर्षीय राघिनी रजक रहेका सर्लाही प्रहरीले जानकारी दिएको छ।
अर्को सवारीसाधनलाई साइड दिने क्रममा चिप्लिएर बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
बसका चालक धरान उपमहानगरपालिका-१७ का ५६ वर्षीय राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बसमा २९ जना यात्रु सवार रहेका र पाँच जनाबाहेक अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।