आदित्यको शव भोलि ल्याइँदै

लालबन्दी : मकवानपुरको सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका लालबन्दी नगरपालिका वडा नम्बर १७ का प्रशिक्षार्थी फुटबल खेलाडी आदित्य बलम्पाकीको शव भोलि घर ल्याइने भएको छ।

भोलि हेलिकोप्टरमाफर्त आदित्यको शव उनकै घरमा ल्याइने र अन्त्येष्टि गरिने सहमति भएपछि आज लालबन्दीस्थित रानीगन्जमा भएको प्रदर्शन स्थगित पनि भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको हो।

विपत्तिमा परेरभन्दा पनि व्यवस्थापकीय कमजोरीले आदित्यलगायत ६ जनाले अनाहकमा ज्यान गुमाएकाले एन्फालगायत सम्बद्ध अन्यविरुद्ध पछि जाहेरी निवेदन हाल्नेगरी शव ल्याउने सहमति भएको नेपाली कांग्रेसका स्थानीय नेता विभुसिंह थापाले बताए।

‘जाहेरी पछि हाल्ने हो। सबैले कोर्डिनेसन गरेपछि बच्चाको शव ल्याउने कुरामा सहमति भएको छ, भोलि ९, १० बजेतिर आदित्यको शव आउँछ होला।’ थापाले बताए।

मकवानुपुरको सिस्नेरीमा मापदण्ड र पूर्वाधार नै नभएको ठाउँमा एन्फाले लगेर प्रशिक्षण दिलाएकाले उनीहरूको मृत्यु भएको भन्दै लालबन्दी-१७ स्थित रानीगन्जमा पर्ने पूर्वपश्चिम राजमार्गमा आदित्यका आफन्त र स्थानीयले चक्काजामसहित प्रदर्शन गरेका थिए।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ बत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययन र प्रशिक्षण लिँदै आएका उनीसहित ६ जना किशोरको असोज १२ गते पहिरोमा परी मृत्यु भएको थियो।

उक्त विपत्तिमा परी मृत्यु भएका २ जनाको शव आज काठमाडौँस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

 

सम्बन्धित समाचार

सबै