लालबन्दी : आगामी केही दिनसम्म देशभरको तापक्रम उल्लेख्य मात्रामा बढ्ने मौसम विज्ञान विभागको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खासगरी तराईंका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नु महाशाखाले अनुरोध गरेको छ।
तराईंका भूभागहरूमा आगामी ५ दिन अर्थात् २०८१ वैशाख १६ गतेदेखि वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाइएको छ। साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकोले महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकोले यसबाट बच्न निम्न उपायहरू अपनाउन महाशाखाको अनुरोध छ।
उपायहरूः
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटक पटक पानी तथा झोल पदार्थ जुस, सर्वत, आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनपर्दछ।
यसैबीच मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।