
हेटौँडा : मकवानपुरमा करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बारा निजगढ नगरपालिका-१ बस्ने वर्ष ९ की र हेटौँडा- १६ बस्ने वर्ष ७ की बालिका रहेको प्रहरीले जानकारी दिएको छ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ मा हिजो २६ गते हिँडिरहेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौडा-१६ चिसापानीबाट २०० मिटर पश्चिम-दक्षिण पर्ने कबर्ड हलको छेउमा ती बालिकाहरूलाई करेन्ट लागेको थियो ।
सो स्थानमा रहेको विद्युतको ११ केभी पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट भई पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो।
बालिकाहरू सोही स्थानमा हिँड्ने क्रममा पानीमा टेक्न पुग्दा करेन्ट लागी बेहोस भएका थिए।
करेन्ट लागेर घाइते भएका दुवै बालिकालाई उपचारका लागि हेटौँडा अस्पताल लगिए पनि उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेका प्रहरीको भनाइ छ।