काठमाडौँ : कारले ठक्कर दिएपछि घाइतेलाई अस्पताल पुर्याएर भागेका चालक पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-३२ तीनकुने गैरीगाउँ सडकमा कारको ठक्करबाट एक जना घाइते भएका थिए।
पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका-१७ घर भई ललितपुर महानगर-१ कुपण्डोल बस्ने ४० वर्षीय चालक निरज विष्ट रहेका छन्। उनले चलाएको कारको ठक्करबाट सर्लाहीको कबिलासी नगरपालिका-२ घर भई गैरीगाउँ बस्ने ५१ वर्षीय विनोद महरा भन्ने राम विनय राम घाइते भएका थिए। घाइतेलाई अस्पतालमा काठमाडौँमै रहेको केएमसी अस्पताल पुर्याएपछि उनी फरार भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उपचारका क्रममा घाइते राम विनयको भने आइतबार मृत्यु भएको छ।
उक्त घटनापछि फरार रहेका चालकलाई खोज्न प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरबाट संयुक्त टोली खटिएको थियो।
खोजी गर्ने क्रममा उनलाई प्रहरीले कुपण्डोलबाट पक्राउ गरेको हो।
पक्राउ परेका चालकमाथि थप अनुसन्धान अघि बढाएको छ। चालकको बा. ३ च. ९४४ को कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ।