विद्युतीय धरापमा परेर धान काट्न हिँडेकी बालिकाको मृत्यु

महोत्तरी : खेतमा धान काट्न हिँडेकी एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ।

महोत्तरीको गौशाला–३ मा बाटोमा रहेको विद्युतको नाङ्गो तारले करेन्ट लागेर पचाइनटोलकी १२ वर्षीया करिना महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा अरू दुई जना पनि घाइते भएका छन्।

आज बिहान आफ्नो खेत नपुग्दै बाटोमा विद्युतीय नाङ्गो तारको झट्काले उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीले जनाएको हो। बालिकालाई उद्धार गर्न खोज्दा सोही बस्तीका १८ वर्षीया राधा महतो र १४ वर्षीया विभा महतो घाइते भएका प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरले जानकारी दिए।

पचाइन बस्तीकै विनोद महतोले आफ्नो खेतको चारैतिर वन्यजन्तुबाट बाली जोगाउन बिछाएका विद्युतीय तारको स्वीच निभाउन (अफ नगर्दा) बिर्सिदा घटना भएको प्रहरीले जनाएको छ। घटनालगत्तै महतो भने फरार छन्।

शव परीक्षणका लागि बर्दिवास अस्पताल पुर्‍याइएको र घाइते दुई किशोरीको गौशालास्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ। दुवै किशोरीको अवस्था खतरामुक्त रहेका प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै