मलंगवा : कविलासी नगरपालिकामा कार्यरत शिक्षकहरूले अझै तलबभत्ता पाउन सकेका छैनन्।
हिजो बुधबार तलबको माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्। बुधबार विरोध सभा गरेका शिक्षकहरुले बिहीबार (आज) देखि विद्यालय पूर्ण रूपमा ठप्प पारेर कार्यालय समयमा धर्ना दिने समेत निर्णय गरेका थिए।
कविलासी नगरपालिका भित्रका शिक्षकहरूले साउनदेखि तलब नपाएको भन्दै विरोधमा उत्रिएका हुन्।
उनीहरूले बुधबार कार्यालयको प्राङ्गणमा पुगेर विरोध सभा गरेका थिए। विरोध सभापश्चात् शिक्षकहरूले विद्यालयमा पठनपाठन ठप्प पारेर कार्यालयको मूल गेटमा धर्ना दिने निर्णयसमेत गरेका छन्।
नगरपालिकाका बाल गोविन्द जनता माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र प्रसाद साहले साउनदेखिको तलब नपाएपछि बाध्य भएर विरोधमा उत्रिनुपरेको बताए। उनका अनुसार बिहीबारदेखि पठन पाठन ठप्प पारेर कार्यालयको मुल गेटमा धर्ना दिइनेछ।
कविलासी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णु यादव पालिकामा जानकारी नै नगराई हिँडेपछि पालिकामा समस्या देखिएको छ। जनप्रतिनिधिबीच बजेट बाँडफाँटमै समस्या देखिएपछि तत्कालीन प्रमुख प्रशसकीय अधिकृत यादव हिँड्दा नगरले यस आर्थिक वर्षको बजेट समेत ल्याउन सकेको छैन।
बजेट नआउँदा पालिकामा विकास निर्माण ठप्प छ भने कर्मचारी तथा वृद्धवृद्धाले तलब भत्तासमेत खान पाएका छैनन्। मेयर ब्रह्मदेव रायले मन्त्रालयले समयमै अर्को प्रशासकीय अधिकृत नपठाउँदा बजेट ल्याउन नसकिएको जानकारी दिँदै सबै कर्मचारीको तलब रोकिएको बताए।