हरिपुर : वनकर्मीको टोलीले सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगर नाखा टोलबाट बिहीबार भरुवा बन्दुक र हरिणको मासु बरामद गरेको छ।
विशेष सुराकीको आधारमा डिभिजन वन कार्यालय सर्लाहीबाट खटिएको वनकर्मीको टोलीले बिहीबार बिहान–९ बजेतिर स्थानीय जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विक र छिमेकी हरिनारायण महराको घरबाट हरिणको मासु बरामद गरेको हो।
वनका अध्यक्ष विकको घरबाट दुई केजी र हरिनारायणको घरबाट–१३ केजी हरिणको मासु बरामद भएको सर्लाहीका डिभिजन वन अधिकृत सन्तोषकुमार झाले जानकारी दिए।
घरबाट हरिणको मासु बरामद भए पनि वनका अध्यक्ष विक र उनका छिमेकी महरा भने फरार छन्। उनीहरूको खोजी भइरहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ। वनकर्मीले खानतलासीको क्रममा हरिनारायण महराको बारीमा लुकाइराखिएको एक थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने एक थान नाल र एक थान खुकुरी बरामद गरेका छन्।
भरुवा बन्दुकमा टाढासम्म उज्यालो फाल्ने ‘टर्च लाइट’ फिट गरिएकाले उक्त हतियार पेसेवर सिकारीले वनजन्तुको सिकार गर्न प्रयोग गर्दैआएको हुनसक्ने आशङ्का गरिएको छ। बरामद हतियार लालबन्दीस्थित डिभिजन वन कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत झाले बताए।
बरामद भएको हरिणको मासु जनप्रतिनिधि, सञ्चारकर्मी, वन कर्मचारी लगायतको रोहवरमा डिभिजन वन कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ।
गोरखापत्रबाट