प्रचण्डको प्रतिबद्धताः आदित्यसहित पहिरोमा मृत्यु भएको घटना निष्पक्ष छानबिन गराउँछौँ

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरको सिस्नेरीमा ६ जना बाल खेलाडी पुरिएको घटनाको निष्पक्ष छानबिनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका अभिभावकसँगको भेटमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

अध्यक्ष दाहालले देशका लागि योगदान गर्ने सपनासहित खेल प्रशिक्षणमा रहेका बाल खेलाडीको निधनले राष्ट्रलाई अपूरणीय क्षति भएको र पीडित परिवारको मागअनुसार यस्तो मानवीय क्षति कसरी हुन गयो भन्ने विषयमा उच्चस्तरीय छानविन गर्न प्रतिपक्षी दलहरूको तर्फबाट पहल गर्ने बताए।

‘मृतक खेलाडीहरूको स्मरणका लागि कोष स्थापना गरेर एकेडेमी वा स्मरणयोग्य संरचना र उनीहरूकै नामबाट नियमति प्रशिक्षण, खेलकुद आयोजना, एन्फा परिसरमा मृतक खेलाडीको प्रतिमा राख्ने र परिवारलाई उचित राहतको आवश्यकता छ। यसका लागि मैले र पार्टीले पनि आवश्यक पहल गर्छु’, उनले भने।

पीडित परिवारका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन र दीपा बानियाँले अध्यक्ष दाहाललाई संयुक्त रूपमा ध्यानाकर्षण–पत्र बुझाएका थिए। उनीहरूले सो घटनाको उच्चस्तरीय छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका थिए।

उक्त घटनामा सर्लाही लालबन्दी नगरपालिका-१७ का १३ वर्षीय आदित्य बलम्पाकीसहित निजगढका विकल रेग्मी, मकवानपुरका अनुप घलान, साइमन योञ्जन, दिवस बानियाँ र काठमाडौंका रियान्स आचार्यको मृत्यु भएको थियो।

सम्बन्धित समाचार

सबै