श्रमिक हुँदै मालिक बनेका परिश्रमीहरू
लालबन्दीमा ममता आल्मुनियम र इन्टेरियर डिजाइनमा केही वर्षयता एउटा मात्र यस्तो पसल छ जसले सर्लाहीमा मात्र होइन, आसपासका जिल्लाका मागलाई पनि धानी रहेको छ।
पाँच दाजुभाइ मिलेर खोलेको यो पसल र पसल खोल्नुको कथा छुट्टै छ। सर्लाहीको लालबन्दीलाई केन्द्र बनाएर पाँचै दाजुभाइले घर निर्माणको भित्री र बाहिरी सबै कामको जिम्मा लिइरहेका छन्।
छ दाजुभाइमध्ये मध्ये काइँला हुन् मनोहर रौनियार। हामीले लालबन्दी बजारमा भेट्दा उनी सामान लोड गर्न भ्याइनभ्याइमा थिए। उमेरले २७ टेक्दै गरेका उनी काममा यति दत्तचित्त छन् कि, जतिबेला गए पनि उनी पसलमै भेटिन्छन्।
सामानको अर्डर होस् या लोड। सबै काम उनैको जिम्मा छाडेका छन् दाइहरूले। ‘दाइहरूले मलाई नै सबैथोक जिम्मा दिनुभएको छ। मनोहर भन्छन्, ‘उहाँहरू पहिला धेरै दुःख गर्नुभयो, म पसलमा बसेको करिब ६ महिना भयो। दाइहरूलाई मैले यहाँ आइरहनुपर्ने कष्ट दिएको छैन, मैले सबै हेरिरहेको छु। पहिला त दाइहरू बस्नुहुन्थ्यो तर अहिले दाइहरू घर व्यवहारमै धेरैजसो समय बिताउनुहुन्छ।’
पछिल्ला केही वर्षयता लालबन्दी बजारमा बसाइँ सरेर आउनेहरूको संख्या ह्वात्तै बढेको छ। जसका कारण घर निर्माणको काम अत्यधिक हुने गरेको छ। तीव्र बसाइँसराइका कारण लालबन्दी बजार अहिले सहर नै भइसकेको छ। जसका कारण मनोहरको ममता आल्मुनियम एण्ड इन्टेरियर फस्टाइरहेको छ।
‘लालबन्दी बजारमा हामीले भविष्य देख्यौँ’
सुरुमा त मनोहरका दाजुहरूले ईश्वरपुर नगरपालिकाको बयलबासलाई आफ्नो मुख्य बजार बनाएका थिए। तर उनीहरूले अझ राम्रो भविष्य लालबन्दीमा देखे। ‘हामीले बयलबासमा पनि व्यापार फस्टाउने सोच बनाएका थियौँ, तर लालबन्दीजस्तो त्यहाँ देखिएन,’ मनोहर भन्छन्, ‘लालबन्दीमा हाम्रो व्यापार सोचेजस्तै बढिरहेको छ।’
मनोहरका साइँला दाजु हुन् मोहन। उनी वाइरिङ र प्लम्बिङको काम गर्छन्। जुन काम पनि उनीहरूले यसैसँग जोडेका छन्। अर्थात् दाइहरूले गर्ने हरेक काम मनोहरले ममता आल्मुनियमसँगै जोडेका छन्। सबै कामको सेवा एकै ठाउँबाट गराउन सफल भएका छन्।
श्रमिक हुँदै मालिक
लालबन्दीमा ममता आल्मुनियम सञ्चालनमा आएको करिब चार वर्ष भयो। मनोहरका दाजुहरूले यो पसल गर्नुअघि वीरगञ्जमा यही सीप श्रमिकको रूपमा काम गरे।
मनोहरका दाजुहरू (जेठा धर्मेन्द्र र माइला मुकेश) ले यससँग सम्बन्धित मजदुरी गर्दै सीप पनि सिक्न भ्याए अनि कामको खोजीमा काठमाडौँ गए। त्यतिबेला मनोहर कलेज पढ्दै थिए। उनमा जिम्मेवारी वहन गर्न सक्ने क्षमताको विकास भइसकेको थिएन।
दाजुहरू दुई वर्ष काठमाडौँ बस्दा धेरै ठाउँमा आल्मुनियम र इन्टेरियरको काम गर्न सिपालु भइसकेका थिए। मनोहरका अनुसार दाइहरूले त्यहाँ ठूल्ठूला होटलको भित्री र बाहिरी (इन्टेरियरसम्बन्धित) काम सिके।
‘तर काम सिकेर पनि पनि आफ्नो व्यवसाय गर्न पैसा चाहिने रहेछ, पैसा कमाउनकै लागि दाजुहरू विदेश जानुभयो,’ मनोहर विगत सम्झिँदै भन्छन्, ‘जेठो (धर्मेन्द्र) दाजु मलेसिया जानुभयो। दुई वर्ष मलेसिया बसेर फर्किनुभयो। माइला दाजु पनि चार वर्ष मलेसिया बसेर फर्किनुभयो।’
तर माइला दाइ विदेशबाट आएर नेपालमै केही गर्नुपर्छ आफूले सिकेको सीप त्यसै खेर जानुहुँदैन भनेर आफैंले व्यापार गर्नुपर्ने सोच बनाएका मनोहर बताउँछन्। ‘खासमा अहिले हामीले गरिरहेको व्यापार र यो संरचनाको सोच उहाँले नै गर्दा भएको हो,’ आफूहरूको व्यसायको श्रेय मनोहर माइला दाइ (मुकेश) लाई दिन्छन्।
जेठो दाइ (धर्मेन्द्र) ले भने विदेशबाट आएर बयलबास बजारमा कपडा पसल चलाएको मनोहर सम्झन्छन्। ‘त्यस्तै २०७४ सालमा दाइले कपडा पसल चलाउनुभएको थियो, त्यो पनि सफल नभएपछि माइला दाइले भनेअनुसार हामीले ममता आल्मुनियम खोल्ने योजना बनायौँ,’ मनोहर बताउँछन्।
आफ्नै पसल चलाउने योजना बन्यो, भनेजति लगानी जुटेन
मनोहरका पाँचै दाजुदाइले आफ्नै पसल चलाउने योजना त बनाए। तर पर्याप्त लगानी जुटाउन उनीहरूलाई गाह्रो पर्यो। ‘अनि चार जना दाजुभाइहरूले बर्दिबासमा रहेको राम थापा भन्ने एक जना दाइले चलाउनुभएको यस्तै जिप्सन बोर्डको पसलमा काम गर्न थाल्यौँ,’ संघर्षको दिन सम्झिँदै मनोहर भन्छन्, ‘माइला दाइको दिमाग छुट्टै किसिमको छ। उहाँले नै विस्तारै काम गर्दागर्दै सबैलाई यसैमा लगाउनुभयो। अनि सबै दाजुभाइ यसमै लाग्यौँ।’
एक डेढ वर्षजति त्यहाँ (बर्दिबासमा) काम गरेपछि त्यही सिकेर उनीहरूले जन्माए ममता आल्मुनियम एण्ड इन्टेरियर। त्यतिबेला यो काम लालबन्दी र बयलबासमा खासै नभेटिने बताउने मनोहर जिल्लामै यसको व्यावसायिक र सफल सुरुवात आफूहरूले गरेको दाबी गर्छन्।
‘हामीले यो व्यवसाय २०७८/७९ मा दर्ता गरेका हौँ। बयलाबास बजार धेरैलाई ढोग्यौँ, तर काम नपाएपछि आफैंले सुरुवात गर्न पुग्यौँ।’ मनोहर ती दिन सम्झिन्छन्।
सुरुमा त पसल नै खोलेर काम गर्ने आँट गर्न नसकेका मनोहर र उनका दाजुभाइले विस्तारै बयलबास बजारमा एउटा पसल भने खोले, बर्दिबासबाट सामान ल्याएर राख्न थाले। अनि मात्र उनीहरूले यसको बजारबारे अझ राम्रोसँग थाहा पाउँदै गए। अनि हामी २०७८ सालमा लालबन्दीमा पसल चलाउने सुर कसे।
लगानीसँगै उधारो थेग्न सक्नुपर्छ
आफूहरूले गरेको व्यवसायमा उधारो धेरै जाने तर आत्तिनु नहुने मनोहरको बताउने गर्छन्। ‘उधारो त जान्छ नै, उधारो गयो भनेर आत्तिनु हुँदैन। उधारो लगाउने तर काम पनि आफैंले (सामान जोड्ने) गर्न सकेन त्यो उधारो डुब्छ,’ उनको बुझाइ छ। सामान बिक्री मात्र नभई सेवा पनि आफूहरूले दिने हुँदा व्यापारमा थप सहज भएको उनी बताउँछन्।
‘कामदार बनेपछि लगानी गर्ने रहर जाग्यो’
लालबन्दीबाट सुरु गरेको मनोहरको आल्मुनियमको व्यापार अहिले जिल्लामा मात्र नभई बाहिरसमेत विस्तार भइसकेको छ।
सर्लाहीमा मात्र नभएर उनीहरूले लहानमा पनि ममता इन्टेनियर सोलुसनको नामले व्यापार बढाएका छन्। जहाँ मनोहरका दिदीभिनाजुले उक्त पसल सञ्चालन गरिरहेका छन्।
आल्मुनियम, जिप्सन, टफन, आल्मुनियम ब्लेजिङ, युपिभिसी, डब्लुपिसी, फ्याब्रिक बोर्डजस्ता घरभित्र र बाहिरका सबै काम अहिले ममता आल्मुनियमको एकै छानाबाट गर्न मनोहर र उनका दाजुभाइ सफल भएका छन्।
‘लालबन्दीमा बजारमा आल्मुनियम र जिप्सन बोर्डको व्यापार सुरुमा यसरी चल्छजस्तो लागेको थिएन,’ मनोहर विगतमा आफूहरूले गरेको संघर्ष र प्रयास सुनाउँछन्, ‘हामीले सुरुमा सर्भिस दिन थालेका थियौँ, त्यसबाट धेरै जना सम्पर्कमा आउनुभयो अनिचाहिँ मजाले चल्न थाल्यो।’ पसलका सामानमध्ये सबैभन्दा बढी जिप्सन बोड्न बिक्ने उनी बताउँछन्।
‘सबै सामान भारतबाटै आउँछ, नेपालमा यस्तो सामान नै पाइँदैन’
घर निर्माणपछि त्यसलाई अन्तिम रूम दिन प्रयोग हुने बाहिर र भित्रका आल्मुनियम तथा जिप्सन बोर्डजस्ता सबै सामग्री आफूहरूले भारतबाट मगाउने गरेको मनोहर बताउँछन्। ‘नेपालमा यस्ता सामानहरू उत्पादन नै हुँदैनन्, निकै ठूलो लगानी चाहिन्छ यो बनाउन, त्यसैले लगभग सबै सामान भारतबाटै मगाउनुपर्छ,’ मनोहर बताउँछन्।
जिल्लाबाहिरका ग्राहक झन् धेरै बढ्न थालेका मनोहर बताउँछन्। ‘अन्त पनि यस्तो पसल त छ, हामीले कम्पिटिसनमा सामान बिक्री गर्नुपर्छ। हामीले अरूले भन्दा कम मार्जिनमा सामान बेचिरहेका छौँ, त्यसैले धेरै डिमाण्ड यहाँ (हाम्रोमा) आउने गरेको छ।’ यसरी प्रतिस्पर्धा धेरै समय टिक्न सकिन्छ त भन्ने प्रश्नमा मनोहर भन्छन्, ‘व्यवहार नै ठूलो कुरा हो।’