काठमाडौँ : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज पनि तराई तथा मधेशमा हावाहुरी चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ भने कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेश प्रदेशसँगै लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानमा पनि आज दिउँसो र थोरै स्थानमा राति पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको नियमित मौसम बुलेटिनमा जनाइएको छ।
सर्लाहीलगायत मधेश प्रदेशमा केही दिनदेखि चलेको तातो हावाका कारण गर्मी बढ्न थालेको छ। यस्तो अवस्थामा चर्को घाम लागेको बेला घरभित्रै रहन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।