
वीरगञ्ज : तराई मधेशका जिल्लामा देखिएको खानीपानी समस्या समाधानका लागि सरकारले ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिएका छन्।
रेडियो सिमाञ्चलले हिजो शनिबार वीरगञ्जमा गरेको एक कार्यक्रम उद्घाटनपछि मन्त्री यादवले खानेपानी समस्याको दीघकालीन समाधान गर्न सुनकोशी मरिन डाइर्भसन सिँचाइ परियोजनाबाट मधेशका ६ जिल्लामा खानेपानी पुर्याउने योजनामा सरकार रहेको बताएका हुन्।
मन्त्री यादवले पहिलेदेखि निर्माण भएका तर सञ्चालनमा नआएका ओभर योजना सञ्चालनमा ल्याउनुका साथै डिपटुवेल जडानजस्ता कार्यक्रमलाई सरकारले अगाडि बढाइरहेको पनि जानकारी दिए।
यसैगरी उनले काठमाडौँवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सुन्दरीजलमा २५ करोड ५० लाख लिटर क्षमता भएको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको जानकारी दिए। सो कार्य पूरा भएपछि काठमाडौँवासीलाई सातै दिन २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सकिने मन्त्री यादवको भनाइ थियो।