
महोत्तरी : महोत्तरीको पिपरा गाउँपालिका– ७ दनौली चौरीस्थित स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
अन्दाजी २५–२६ वर्षकी कालो लेगिज र हल्का पहेँलो रंगको कुर्ती लगाएकी महिलाको शव आँप बगैँचाको आलीमा भेटिएको हो।
मृतकको अनुहारमाथि ओढ्ने सल राखेर जलाइएको हो। सोमबार बिहान स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलको कमान्डमा प्रहरी टोली घटनास्थल आइपुगेर अनुसन्धान सुरु गरेको छ।
एसपी पोखरेलले मृतकको परिचय खुल्न नसकेको बताए। प्रहरीले घटनास्थल सुरक्षित राखी मुचुल्का उठाउने काम गरिरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटना बीभत्स भएको देखिएको छ।